काठमाडौँ । एमाले सांसद सुवास नेम्बाङले मंसिर ४ को चुनावले सबै मिल्न दिएको सन्देश कार्यावन्यन गर्न सबै दलहरुलाई आग्रह गर्नुभएको छ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख पदका लागि एमालेबाट उम्मेदवार देवराज घिमिरेको प्रस्ताव गर्दै नेम्बाङले सभामुख चयनलाई चुनावको सन्देश कार्यान्वयन गर्ने अवसरको रुपमा प्रयोग गर्ने आग्रह गर्नुभएको हो । उहाँले सदनलाई एकजुट बनाएर लैजान सबैको भूमिका हुने उल्लेख गर्नुभयो ।
‘जनताद्वारा जनताको लागि यही ऐतिहासिक ठाउँमा जनताको संविधान बनायौं । यो संविधान अन्तर्गत भएको भर्खरैको चुनावले दलहरुलाई स्वस्थ प्रतिस्पर्धा र एक अर्कालाई मिलेर अघि बढ भन्ने सन्देश दिएको छ। त्यही सन्देश अनुसार काम गर्नका लागि हामी प्रतिनिधिसभाको सभामुख चयन गर्ने सन्दर्भमा जुटेका छौं ।’
उहाँले प्रतिनिधिसभालाई जवाफदेहिता र पारदर्शिता कायम गर्नुपर्ने पनि बताउनुभयो।’यो सिंगो प्रतिनिधि सभालाई एकजुट बनाएर निष्पक्ष समामुखको भूमिका निर्वाह गर्न सक्नुपर्छ,’ नेम्बाङको भनाइ छ ।