काठमाडौं । प्रतिनिधिसभाका सभामुख पदका एमालेका उम्मेदवार देवराज घिमिरेले आफनो जित पक्का भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाका सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुँदै छ । सभामुखका लागि गठबन्धनबाट एमालेका घिमिरे र कांग्रेसकी ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै घिमिरेले स्वयं आफनो पार्टी एमाले, माओवादी, राप्रपा र रास्वपा आफ्नो समर्थनमा भएकाले जित पक्का भएको दाबी गर्नुभएको हो । जनता समाजवादी पार्टी (जसपा) ले पनि साथ दिने विश्वास व्यक्त गर्दै उहाँले सबैको साथ पाउनेमा ढुक्क रहेको बताउनुभयो ।
सभामुखमा जिते नियम नियमावलीका आधारमा सरल र स्पष्ट ढंगबाट सदनलाई अगाडि बढाउने घिमिरेले प्रतिवद्धता व्यक्त गर्नुभयो । सभामुखको भुमिका जे हो त्यहि अनुसार र तठस्थ रहेर काम गर्ने उहाँको भनाइ छ ।
एमालेका घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।
न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन् ।
नेपाली नेटवर्क