रोल्पा । गोरखा अस्पतालका डाक्टरमाथि कुटपिट गरेकाे आरोपमा पक्राउ परेका तीन युवक धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले उनीहरूलाई जनही एक लाख ५० हजार रुपैयाँ धरौटीमा छोडेको हो ।
अस्पतालका डाक्टर अविनाश पराजुलीलाई ओपीडी कक्षमा बिरामी परीक्षण गरिरहेकै बेला कुटपिट गरेको भन्दै प्रहरीले गोरखा नगरपालिका ९ बस्ने २८ वर्षका समीर कुँवर, १९ वर्षका अनुप बस्नेत र गोरखा नगरपालिका ३ का २६ वर्षका प्रमोदजंग कुँवरलाई पक्राउ गरेको थियो ।
कात्तिक ६ गते दिउँसाे पराजुलीलाई हातपात गरी सम्पर्कविहीन भएका उनीहरूलाई गएकाे शनिवार पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ पहिलो संशोधन अध्यादेश २०७९ को दफा ३ (च) अनुसार मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो । त्यस बुँदामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गालीगलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न नहुने उल्लेख छ । त्यस बुँदाअनुसार कसुर ठहर भएमा एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।
अस्पतालका स्वास्थ्यकर्मीले भने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, पहिलो संशोधन अध्यादेश २०७९ को दफा ३ (ग) मा भएको व्यवस्थाअनुसार मुद्दा दर्ता गरी अनुसन्धान गर्न माग गर्दै आएका थिए । त्यस बुँदामा तीन वर्षसम्म कैद, तीन लाखसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।
प्रहरीले गएकाे बुधवार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, पहिलो संशोधन अध्यादेश २०७९ को दफा ३ (च) मा भएको व्यवस्थाअनुसार सजाय हुनुपर्ने मागदाबीसहित अभियोगपत्र दर्ता गरेको थियो । हिजाे बिहीवार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले उनीहरूलाई जनही डेढ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गर्नुभएको हो । मुद्दाको फैसला हुन भने बाँकी छ ।