रोल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले आशन्न निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
घोषणा पत्रमा प्रदेशमा रेल चलाउने र सुरुङमार्ग बनाउने तथा लुम्बिनीलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने योजना रहेको छ ।
बिहीबार बुटवलमा घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले पार्टीको केन्द्रीय घोषणापत्रलाई आधार मानेर प्रदेशका कामलाई प्राथमिकता दिदै घोषणापत्र तयार गरिएको बताए ।
बिभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सुझाव समेटेर प्रदेशको आवस्यकता र सम्भाव्यतालाई मध्येनजर गरी ५ बर्षमा गर्न सकिने कामलाई समेटेर घोषणा पत्र तयार गरिएको बताए ।
प्रदेशका मुख्य शहर रुपन्देहीको बुटवल, भैरहवा, दाङको तुलसीपुर, घोराही र बांकेको नेपालगन्ज कोहलपुरमा रेल संचालन गर्ने कांग्रेसको घोषणापत्रमा उल्लेख छ । यस्तै सिद्धबाबा, माडी र दाङमा सुरुङ मार्ग निर्माण गर्ने उसको योजना छ ।
घोषणापत्रमा लुम्बिनी विकास कोषलाई संघ र प्रदेशको सामूहिक कार्यक्षेत्रमा ल्याउनुपर्ने भनिएको छ । लुम्बिनीमा बौद्ध धर्माबलम्बीको बसोबास भएको मुलुकबाट प्रसुति गराउन आकर्षित गर्न बर्थिङ सेन्टरका रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।
प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय बनाउने र स्टेम शिक्षा प्रणाली लागू गर्ने घोषणापत्रमा जनाइएको छ ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने कांग्रेसले घोषणा गरेको छ । अत्यावश्यक औषधी उद्योग प्रदेशभित्रै स्थापना गर्ने, दीर्घरोग तथा डाइलासिस गर्नुपर्ने बिरामीलाई निशुल्क उपचार गर्ने, निरोधात्मक स्वास्थ्य सेवा सञ्चालन गर्ने उल्लेख छ ।
यस्तै कृषितर्फ कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने, मल कारखाना खोल्ने, चिस्यान केन्द्र, जडिबुटी प्रशोधन केन्द्र बनाउने र कृषिलाई बजार र अनुसन्धासित जोड्न आवश्यक पूर्वाधारको स्थापना र स्तरोन्नति गरिने उल्लेख छ । यस्तै युवा तथा उद्यमशीलतातर्फ एक पालिका, एक पालिकास्तरीय उद्यम परामर्श र आविष्कार केन्द्र स्थापना, एक पालिका एक खेलकुद केन्द्र र पुस्तकालय स्थापना गर्ने भनिएको छ ।
नौमुरे, बबइ, शारदा कालीगण्डकी र माडी बहुउद्देश्यीय आयोजना अगाडि बढाउने कांग्रेसको योजना छ ।
कार्यक्रममा कांग्रेस लुम्बिनीका महामन्त्री राजु खनाल,सहमहामन्त्री नीमा गिरी,घोषणा पत्र तयारी समितिका संयोजक ई.मन्दीप चौधरीले घोषणा पत्र बारे प्रकास पारेका थिए ।