काठमाण्डाै । बुधवार राति एलपीजी ग्यास सिलिन्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली काङ्ग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ ।
श्री एअरलाइन्सको एअर एम्बुलेन्सबाट भारतको मुम्बईमा रहेकाे नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीकाे नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो । हिजो राति घाइते हुनुभएका सांसद भण्डारीको कीर्तिपुरकाे कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।
निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । सांसद भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।