काठमाण्डाै । प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत भएको बताउनुभएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले विभागले जारी गरेको निर्देशिकाअनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको विरोध गर्नुभएको हो । यस निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने र ट्रक, बस, ट्याङ्कर, एक्स्काभेटर, डोजर आदिलाई १०० नम्बर ल्याउनुपर्ने प्रावधान हुँदा दुई खालको लाइसेन्स हुने उहाँको भनाइ छ । त्यसो हुनु गलत भएको उहाँले बताउनुभयो ।
सांसद पाण्डेले यस्तो प्रावधान हुनुले ४० प्रतिशत राजस्व घट्ने, कर्मचारीको तजबिजी अधिकार बढ्ने, परीक्षाका लागि कर्मचारी र लागत बढ्ने हुँदा खर्च बढ्दै जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो कुराले सरकार गलत बाटोमा छ र यदि लाइसेन्स दिनै मन भए यो खालको मापदण्ड परिवर्तन गर्नुपर्छ । ७० नम्बर ल्याउनेलाई नै लाइसेन्स दिन मन भए पनि रातो बत्ति बाल्दाबाल्दै गाडी क्रस गर्न पाउने व्यवस्था हुनुहुँदैन । यदि यस्तै हुने हो भने गाउँमा नागरिकता टोली आउँदा टेबल राखेर नागरिकता बाँडेझैँ बाँडिदिए भइगयो नि त । अब नेपालका लाइसेन्सहरू दुई खालका हुने भए । मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने भयो । ट्रक, बस, ट्याङ्कर, एक्स्काभेटर, डोजर आदिलाई १०० नम्बर नै ल्याउनपर्ने भयो । उही सडकमा गुड्दा दुई खालको लाइसेन्स प्रयोग हुने भयो । दुई वटा मापदण्ड हुने भयो । यो कुराले धेरै कुरामा असर पार्न सक्छ । यसले ४० प्रतिशत राजस्व घटाउँछ । राज्यको अरू खर्च बढ्दै जान्छ । यो कार्यले झन् धेरै दुर्घटना बढाउँछ ।’
सांसद पाण्डेले यस प्रावधानले नेपालको लाइसेन्स अन्तर्राष्ट्रियस्तरमा अमान्य हुनसक्ने पनि बताउनुभयो ।