काठमाण्डाै । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले वैकल्पिक शक्तिको एजेन्ड बोकेर आउनेहरूलाई स्थापित दलहरूले नै सिध्याउने गरेको आरोप लगाउनुभएको छ ।
शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले वैकल्पिक शक्तिको एजेन्डा बोकेर आउने राजनीतिक दललाई स्थापित दलहरूले कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले नयाँ शक्तिको एजेन्डा बोकेका वैकल्पिक राजनीतिक दलहरूले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष राउतले राजनीतिक पार्टीको रूपमा दर्ता हुँदैमा सरकारमा जानुलाई नै सबैभन्दा ठूलो प्राथमिकता बनाउन नहुने बताउनुभयो । उहाँले वैकल्पिक शक्तिहरू एक ठाउँमा बसेर क्रान्तिको बीजारोपण गर्नसके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्नसक्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सडक आफैँमा सबैभन्दा ठूलो थलो हो । त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्छ । त्यसलाई कम प्राथमिकतामा राख्नु हुँदैन । हामी राजनीतिक पार्टीको रूपमा दर्ता भयो भन्दैमा सबैभन्दा ठूलो प्राथमिकता सरकारमा नै जाने, संसदमा नै जाने भन्ने होइन । सङ्घर्षको माध्यमबाट हामी अघि बढ्नुपर्छ । सम्पूर्ण वैकल्पिक शक्ति चाहनेहरू एक ठाउँमा आएर कुनै क्रान्तिको बीजारोपण गर्नसक्यो भने भ्रष्टाचार, बेरुजु, कुशासनको विरुद्धमा जान सकिन्छ । रोजगारी सिर्जना, सुशासन कायम गर्ने कुरालाई आधार मानेर अघि बढेमात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ ।’
अध्यक्ष राउतले वैकल्पिक शक्तिहरूले स्थापित तरिका र चुनावकाे माध्यमबाट मात्रै जानसक्ने भन्ने कुरा सोच्न नहुने बताउनुभयो ।