२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

काठमाडौं । जनकपुरबाट हतियारसहित एक मिटरब्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय दिलिप साह रहेका छन् ।

उनको घरबाट प्रहरीले एकथान कटुवा पेस्तोल, ३०३ राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थानसहित मिटरब्याज सम्बन्धित कागजात बरामद गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले साहको घर तथा पसल खानतलासी गरेको थियो । हतियारका साथै दिलिप र उनकी श्रीमती ममता देवी साहको नाममा रहेको राजीनामा फारम सहितको जग्गा धनीपुर्जा ३९ थान, दिलिपको नाममा जग्गा रोक्का रहेको फारम ५ थान, रकम उल्लेख नभई दस्तखत भएको सिटिजन बैंकको चेक १ थान पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

त्यस्तै उनीहरुको साथबाट कपाली तमसुक १५ थान, खाली कागजमा सहीछाप भएको ६ वटा पाना, लेनदेन मुद्दाको दिलिप साहको नाममा रहेको तारेख पर्चा १४ थान समेत बरामद गरेको छ ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरूले साहविरुद्ध उजुरी दिएका थिए । उजुरीकै आधारमा शनिबार दिउँसो २ बजे उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय