सोलुखुम्बु । सोलुखुम्बुमा आज लामाे दूरीका जीप सञ्चालन ठप्प भएकाे छ । जीपको हुट हटाउने विषयमा असहमति जनाउँदै यातायात व्यवसायीहरुले जीप सञ्चालन ठप्प पारेका हुन् ।
आज काठमाण्डौसहितका जिल्ला जाने कुनै पनि जीप नछुटेकाे यातायात व्यवसायी दोर्जी शेर्पाले बताउनु भयाे । जीप नछुट्दा यात्रु समस्यामा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले केन्द्रीय सर्कुलर अनुसार दुर्घटनाको जोखिम बढेको भन्दै हुट हटाउन ताकेता गरेपछि यातायात व्यवसायीले यस्तो निर्णय गरेका हुन् । व्यवसायीहरुले हिजाे शनिवार यस विषयमा छलफल गरेर आज यातयात सञ्चालन बन्द गरेका हुन् ।
सोलुखुम्बुबाट छुट्ने जीपले यात्रुका सामान, लगेज, आलु लगायतका सामग्रीहरु बोक्नुपर्ने भएकाले हुट हटाउन नसकिने व्यवसायीको अडान छ । साथै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा हुट हटाउन नसकिने ब्यहोराकाे जानकारी गराइ सहजीकरण गरिदिन समेत आग्रह गरेका छन् ।