काठमाडौं । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न गएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये तीनजना गम्भीर छन् ।
धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि १५ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको धनकुटाकी निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिनुभयो ।
घाइते ओसार्न एम्बुलेन्स अभाव भएपछि जिल्लाका सबै सरकारी गाडी प्रयोग गरिएको थियो । निमित्त प्रजिअ अधिकारीले घाइतेलाई अस्पताल पुर्याउनका लागि सरकारी कार्यालयका सवारीसाधन प्रयोग गर्न आफूले निर्देशन दिएको बताउनुभयो ।
गत माघ ६ देखि आयोजित महोत्सवको नवौं दिन हिजो साँझ गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुति सुरु हुनु केही क्षणअघि घटना भएको हो । मुस्किलले ३ हजार क्षमता रहेको स्थानमा दोब्बर दर्शकको भीड रहेको थियो ।
दुई तर्फको महोत्सवस्थलको गेट बन्द गरिएपछि बाहिर उल्लेख्य भीड बढेको थियो । अत्यधिक भीड रहेको बेला एकैपटक बन्द गरिएको गेटको ढोका खोल्दा ठेलमठेल हुँदा घाइते भएको जनाइएको छ । उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव घटनापछि तत्काल सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।