धनुषा । मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रबाट समानुपातिकतर्फ निर्वाचित दुई जना प्रदेश सभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
मधेस प्रदेशको प्रदेश सभा सचिवालयमा आयोजित एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्रकी मालाकुमारी कर्ण र रैजी हैदरले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो । कर्ण लामो समयदेखि पत्रकारितामा संलग्न हुनुहुन्थ्यो ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले दुवै जना प्रदेश सभा सदस्यलाई शपथ गराउनुभएको छ । प्रदेश सभा सदस्य कर्णले मैथिलीमा र हैदरले उर्दु भाषामा शपथ लिनुभएको हो ।
दुवै जनाले शपथ ग्रहण गरेपछि प्रदेशसभाका सभामुख मण्डल, मुख्यमन्त्री यादवसहित शपथ ग्रहण कार्यक्रममा उपस्थित मन्त्री र संसदीय दलका नेताहरुले दुवै जना प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना दिनुभयो ।
यसअघि दुवै जनाको विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर भएका कारण पुस १५ गतेको शपथ ग्रहण कार्यक्रममा उहाँहरुलाई शपथ नगराउन निर्वाचन आयोगले प्रदेश सभालाई पत्राचार गरेको थियो ।
दुवै जनाको मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएपछि आज उहाँहरुलाई शपथ ग्रहण गराइएको हो । दुवै जनाले आज शपथ लिएपछि प्रदेश सभामा अब एक सय ७ जना प्रदेश सभा सदस्यको सङ्ख्या पूरा भएको छ ।