काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद प्रदीप यादवले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंगो मधेसको अवहेलना गरेको आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता यादवले भन्नुभयो, ‘जसपा ओली र प्रचण्डको भातृसंगठन पनि होइन, कारिन्दा पनि होइन । दुइटा मन्त्री लिएर हामी सरकारमा जाँदैनौं । यो कुरा हामीले ओली र प्रधानमन्त्रीलाई प्रस्ट रुपमा भनिसकेका छौं । मधेसप्रतिको अवहेलना जनताले बुझेका छन् । हामी प्याकेजमा पावर सेयरिङ भए मात्र सरकारमा जान सक्छौं । अहिले हामी छलफलमा छौं । जसपाले सही समयमा सही डिसिजन गर्छ।’
राष्ट्रपति, उपराष्ट्रपति पदमा कसैलाई मत दिनेभन्दा पनि जसपा आफैंले उम्मेदवारी दिन सक्ने पनि उहाँले संकेत गर्नुभयो । यादवले भन्नुभयो, ‘राष्ट्रपति, उपराष्ट्रपति पदमा कसलाई मत दिने भन्ने हामी निर्णय गरिसकेका छैनौं । हामी आफैं पनि उम्मेदवारी उठाउन सक्छौं । मधेसका मुद्दा र अधिकारमा ओली, प्रचण्ड र देउवाको असंवेदनशीलता हामीले बुझेका छौं ।’
रवि लामिछाने र राजेन्द्र लिङ्देन संघीयताविरोधी भएको आरोप पनि उहाँले लगाउनुभयो । सांसद यादवले भन्नुभयो, ‘संघीयता विरोधीको जमात छ सरकारमा । रवि लामिछाने र राजेन्द्र लिङ्देन कहाँ जानुहुन्छ, के गर्नुहुन्छ समय आएपछि थाहा हुन्छ । रवि लामिछानेको ठाउँमा मधेसको साह, झा, थारु, यादव, कुर्मी तेली भएको भए के हुन्थ्यो ? अहिले पनि उहाँ नेपाली होइन, अमेरिकन नागरिक हो ।’
नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको सम्भावना शून्य रहेको पनि उहाँले बताउनुभयो । एकीकृत समाजवादी लगायतका दलहरूसँग मोर्चा भने बन्न सक्ने उहाँले औंल्याउनुभयो ।