कास्की । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कार्यसम्पादन समितिको राजीनामा माग्नुमा कुनै तुक नरहेको बताउनुभएकाे छ । पोखरामा क्यानको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष चन्दले पाँच सदस्यीय टोलीले राजीनामा माग्नुको तुक नरहेको बताउनुभएकाे हाे ।
अध्यक्ष चन्दले राजीनामा बाहिर हल्ला गरेर माग्ने नभई साधारण सभामा माग्ने वा ३३ प्रतिशतका हस्ताक्षर लिएर आउन चुनौती दिनुभयाे । उहाँले ३३ प्रतिशत सदस्यले लिखित माग गरेर आएमा ३५ दिनभित्रमा विशेष साधारण सभा गरेर आफू अध्यक्ष पद छाड्न तयार भएको बताउनुभयाे ।
अध्यक्ष चन्दले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पठाएको दुई सदस्यको कुनै औचित्य नै नभएको बताउनुभयाे । क्यान कार्यसम्पादन समितिकाे राजीनामा माग्ने सात जनामध्ये दुई जनालाई राखेपले मनोनयन गरेर पठाएको छ ।
नेपाल टी–२० लिग आयोजना गर्न सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौता एकपक्षीयरूपमा रद्द भएको प्रसङ्गमा अध्यक्ष चन्दले सङ्घले पाउनुपर्ने पैसाका लागि आवश्यक कानुनी प्रक्रियामा जाने बताउनुभयाे ।