कास्की । तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सेमीफाइनलको समीकरण पूरा भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ सेमीफाइनलको समीकरण पूरा भएको छ । महिलातर्फ सशस्त्र प्रहरीबलको एपीएफ क्लबले लिग तालिकाको पुछारमा रहेको गण्डकी प्रदेशसँगको भेट पक्का गरेको छ ।
होङवान्जी न्यू डायमण्डले त्रिभुवन आर्मीसँगको भेट पक्का गरेको छ । न्यू डायमण्डले बुधबार भएको गण्डकीविरुद्धको खेल ३–१ सेटमा जित्न सफल भएको छ । न्यु डायमण्डले १९–२५, २५–१५, २५–१४ र २५–११ मा गण्डकीलाई हरायो ।
अर्को खेलमा सशस्त्र प्रहरीले आफ्नो अविजित यात्रालाई कायम राख्यो । सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल आर्मीको त्रिभुवन क्लबलाई ३–१ को सेटमा पराजित गर्याे । एपीएफले २५–१७, २२–२५, २५–१६ र २५–१५ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
पुरुषतर्फको खेलमा आयोजक गण्डकी प्रदेशले विभागीय टोली नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा पराजित गरेको छ । गण्डकीले २३–२५, २३–२५, २५–२३, २५–२२ र १५–१३ ले आर्मीलाई हरायो ।
पुरुषतर्फको अर्को खेलमा एपीएफले आफ्नो अविजित यात्रा जारी राख्दै विदेशी टोली श्रीलंकाको सेन्ट जोसेफ भाज स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पाखा लगायो । एपीएफले २५–२३, २५–२३ र २५–२३ ले पराजित गरेको हो ।
महिला–पुरुष दुवैतर्फ उपाधि विजेता टिमले ५/५ लाख नगद, उपविजेता टिमले समान नगद २ लाख ५० हजार, तेस्रो हुने टिमले नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।