काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले लुम्बिनि प्रदेशको सदरमुकाम दाङमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सत्ता गठबन्धनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको र सुदूरपश्चिममा पनि सरकार बनाएको उल्लेख गर्दै आफुहरुका माग पूरा नभएकोले मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताउनुभयो ।
नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल गत पुस २७ मा मुख्यमन्त्री बननुभएको थियो। उहाँले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ ।
तर नागरिक उन्मुक्तिले समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिनु भएको छैन। उहाँले शीर्ष तहबाटै सहमति खोजिरहनुभएको छ । तर सरकार निर्माणमा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले नै हात झिकेपछि उहाँलाई समस्या देखिएको छ । यद्यपि छलफलका क्रममा आफूहरुको माग र मुद्दाप्रति प्रधानमन्त्री सकारात्मक भने पाएको श्रेष्ठले बताउनुभएको छ ।