हेमराज शर्मा दाङ । दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी ४५ वर्षीय पूर्ण पुन मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
रोल्पाबाट दाङको घोराही तर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको रा ६ प ८९५० नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका १३ दारेबोट चोकमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा लगेपछि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
एम्बुलेन्ससहित चालक रोल्पाको त्रिवेणी गाँउपालिका–२ निवासी २८ वर्षीय निर्मल महरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभएको छ ।