
कोहिनूर अन्लाइन, बैशाख ३० । रोल्पाको लुङ्ग्री गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिका भित्रका खोप लगाउनुपर्ने उमेर समुहका ९१६(२३महिना० सम्पुर्ण बालबालिकाहरुले खोप पाएको सुनिश्चितता भएसंगै पालिकालाई घोषणा गरिएको बताईएको थियो ।
जिल्ला समन्वय समिती प्रमुख सीता आचार्यले बालबालिकाको लागि खोप महत्वपूर्ण रहेको बताउनुभयो । प्रत्येक वर्ष जन्मेका बालबालिकालाई खोपको दायरामा पुर्याउनु आवश्यक भएको बताउनु भयो । “पहिले गाउँघरमा आफ्नो बालबालिकालाई खोप लगाईदिन अभिभावकले मान्दैन थिए” उहाँले भन्नुभयो, “अहिले त्यो समस्या समाधान भएको छ सहजै रुपमा खोपको पहुँचमा आउन थालेका छन् ।”


लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले खोपको आवश्यकता र महत्व सबैले बुझ्दै गएको बताउनु भयो। खोप बारेमा सचेतता जगाउनमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका पनि उल्लेख्य रुपमा रहेको उहाले बताउनु भयो ।
स्वास्थ्य कार्यालय रोल्पाका खोप फोकल परसन माधव रावलले लुङ्ग्री गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका सुनिश्चित गरेसँगै जिल्लाका सबै स्थानीय तह सुनिश्चितता भएको बताउनु भयो । सबै बालबालिकालाई अनिवार्य रुपमा खोपको पहुँचमा ल्याउनु मुख्य दायित्व भएको उहाँले बताउनुभयो । “हामी घरधुरी सर्वेक्षण बाट खोप लगाउनबाट बालबालिका छुटेको पाईएमा पुनः खोपमा समावेश गर्दछौ”, उहाँले भन्नुभयो, ” यदी कोही बाहिरबाट आएको खण्डमा उनीहरूलाई खोजेर खोप लगाउने गर्दछौ । जुनसुकै देशमा जादा पनि खोप अनिवार्य भएको छ ।”
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलकुमारी गुरुङ, विद्यालयका प्रधानाध्यापक, महिला स्वास्थ्य स्वयंसेविका लगायतले समेत मन्तव्य राख्नुभएको थियो।
स्वास्थ्य शाखा सह संयोजक दिपा विष्टको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख लेपेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।