
लिबाङ, रोल्पा
पूर्व सिंचाई राज्यमन्त्री तथा संविधान सभा सदस्य अमरसिंह पुनले नेपाली कांग्रेस रोल्पाका बरिष्ठ जिल्ला सदस्य दुर्गाप्रसाद अधिकारीको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । समाजसेवीको समेत पहिचान बनाउनु भएका सुनिल स्मृति गाउँपालिका २ खुङ्ग्री निवासी अधिकारीको आज कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा हृदयघाटको कारणले निधन भएको हो ।
नेपाली कांग्रेस रोल्पाको सभापति समेत रहनु भएका पुनले सामाजिक सञ्जालमार्फत अधिकारीको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै उहाँको निधनले कांग्रेस रोल्पाले एक अग्रज नेता र देशले एक कर्मशील राजनीतिकमी व्यक्तित्व गुमाएको बताउनु भएको छ ।
सभापति पुनले दुःखको यस घडीमा अधिकारीप्रति श्रद्धान्जलि अर्पण गर्देै शोकाकुल परिवारजनमा समवेदना प्रकत गर्नु भएको छ । अधिकारी नेपाली कांग्रेस रोल्पाको पूर्व कोषाध्यक्ष, जिल्ला विकास समितिको पूर्व सदस्य एवम् पूर्व प्रधानपञ्च समेत हुनुहुन्थ्यो ।