काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर बिरामीको उपचारमा जुट्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर स्वास्थ्य जस्तो संवेदनशील विषयमा आन्दोलन गरेर उपचार सेवा प्रभावित नगर्न र स्वास्थ्य उपचारको नियमित काममा जुट्न आग्रह गरेको हो ।
अस्ति राष्ट्रपतिको सवारीका क्रममा डाक्टरमाथि कुटपिट भएको घटनाप्रति दु:ख व्यक्त गर्दै मन्त्रालयले घटनाको छानबिन सुरु भइसकेकाले संवादमार्फत् विवाद समाधान गर्न सकिने भन्दै बिरामीको उपचारमा फर्किन अनुरोध गरेको छ ।
घटनाको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने र नेपाल चिकित्सक सङ्घले उठाएका विषयलाई संवादमार्फत् समाधान गर्ने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा घाइते भएका डाक्टरको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
नेपाल चिकित्सक सङ्घले डाक्टरमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेको छ । देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प हुँदा बिरामी भने मर्कामा परेका छन् ।
डाक्टरमाथि भएको कुटपिट अनुचित भए पनि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्नु ठिक नहुने भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेका छन् ।