काठमाण्डाै । गैँडा पाइने एसियाली देशहरुबीच गैँडा संरक्षण, गैँडाको सङ्ख्या व्यवस्थापन, बासस्थान व्यवस्थापन, अनुसन्धान तथा सूचना आदानप्रदान, समन्वय र सहकार्य गर्ने सहमति भएको छ ।
गैँडा पाइने एसियाका पाँच देश नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका सरकारी अधिकारी, संरक्षणकर्मी र विज्ञहरु सहभागी बैठकमा यस्तो सहमति भएको हो । चितवनको पटिहानीमा शुक्रवार सुरु भएको बैठक हिजो सकिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाअनुसार बैठकले ‘एसियन गैँडा संरक्षणका लागि चितवन घोषणापत्र–२०२३’ जारी गरेको । नेपाल, भारतमा रहेका ठूलो एकसिङ्गे गैँडा भुटानसम्मै ओहोरदोहोर गर्छन् भने इन्डोनेसिया र मलेसियामा पनि सानो खाले गैँडा पाइन्छ ।
नेपालमा चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटामा गरेर ७ सय ५२ वटा ठूलो एकसिङ्गे गैँडा रहेको तथ्याङ्क छ । नेपालले गैँडा संरक्षणमा महत्त्वपूर्ण सफलता हात पारे पनि बेलाबेला चोरी सिकारका घटना हुने गरेका छन्।